नेपाली जनजीवनमा म:मको क्रेज

नेपाली जनजीवनमा म:मको क्रेज

मनपर्ने स्वाद, छिटो-छरितो तयारी अनि सुलभ मूल्य—यिनै कारणले गर्दा नेपाली खाजा बजारमा म:मको एकछत्र राज छ। सानो चमेनागृहदेखि भव्य सपिङ मलका रेस्टुरेन्टसम्म म:मबिनाको मेनु अधुरो जस्तै देखिन्छ। मानिसहरू भेटघाट हुनासाथ खाजाका रूपमा पहिलो प्राथमिकता म:मलाई नै दिन्छन्। कसैलाई बफ, कसैलाई चिकेन, त कसैलाई मटन, पनिर वा भेज—पसन्द फरक भए पनि रोजाइ भने म:म नै हुन्छ।

म:म पारखीका प्रसङ्ग

चर्चित संगीतकार अर्जुन पोख्रेल सानो छँदा साथीहरू म:मको चर्चा गर्थे। त्यतिबेला चितवनको टाँडी बजारमा मात्र म:म पाइन्थ्यो। ‘म:म भनेकै बफ हो’ भन्ने सोचका कारण उनले मन लागेर पनि खान पाएनन्। साथीहरूसँग टाँडी बजार घुम्न जाँदा म:मको बास्ना नाकैमा ठोक्किन्थ्यो र उनी बास्नाबाटै म:मतिर तानिन्थे; तर बफ भएकै आशङ्कामा बास्नाको स्वाद मात्र लिएर फर्कन्थे। उनले पहिलोपटक काठमाडौँ आएपछि मात्र म:मको सक्कली स्वाद चाखे।

आरआर क्याम्पस पढ्दा सडकपेटीमा बेचिने म:मबाट सुरु भएको उनको यो यात्रा अहिले पारखीकै रूपमा स्थापित छ। जाडोमा झोल म:म रुचाउने उनी मौसम अनुसार प्रकार फेरेर खान्छन्। संसारका विभिन्न मुलुक पुगेर म:म चाखे पनि नेपालको जस्तो मीठो चासो अन्त कतै नभेटिएको उनी बताउँछन्।

अर्कातिर, अभिनेता भुवन केसी पनि म:मका ठूला पारखी हुन्। चिकेन म:म मन पराउने भुवनलाई ठूलो आकारको तिब्बती ‘टपाउ’ म:म विशेष लाग्छ। उनले परम्परागत नेवारी खाजाघरका म:मका साथै स्ट्रिटमा पाइने सानदार म:म पनि उत्तिकै चाखेका छन्। दार्जिलिङतिर पाइने पोर्कको पातलो म:मको स्वाद उनको जिब्रोमा अझै गाढ बसेको छ। जाडोमा नाङ्लो रेस्टुरेन्ट पुगेर म:म खान रुचाउने भुवन त दाल-भातपछिको दोस्रो राष्ट्रिय खाना नै म:म हो भन्छन्।

खाजा मात्र कि खाना पनि?

काभ्रेका सुमन तामाङ मध्याह्न १२ बजे महाबौद्धको ‘म:म सलमा’ म:म खाँदै थिए। ‘खाजा खानुभयो?’ भनेर सोध्दा उनले ठट्टा गर्दै भने, “खाजाको समय त भएकै छैन, यो त खाना नै हो! म:म खाँदा रोटी, तरकारी र मासु एकैपटक पाइन्छ, अनि अचार जति खाए पनि पैसा थप्नु पर्दैन।” सुमन जस्तै महाबौद्ध क्षेत्रका थुप्रै मजदुरहरूका लागि समय, स्वाद र बजेटका हिसाबले म:म नै प्रमुख खाना बनिसकेको छ।

क्रेज केवल श्रमिक वर्गमा मात्र सीमित छैन। संगीतकार न्ह्यु बज्राचार्य त लन्च र डिनर दुवैमा म:म खान तयार हुन्छन्। “भोकाएका बेला जुनसुकै रेस्टुराँ पसे पनि म:मले जति छिटो भोक अरू खाजाले मेट्न सक्दैन,” मासं गल्लीमा कुपन लिएर लाइन बसेको पुराना दिन सम्झँदै उनी भन्छन्। अचेल पनि रञ्जना हलअगाडिको आरसी म:म र म्याजिक म:मको खोजीमा उनी डुलिरहन्छन्।

सक्कली स्वाद: किमा र अचारको कमाल

संसारमै सबैभन्दा बढी मन पराइने परिकार कुन होला? यसको निश्चित उत्तर नभए पनि विभिन्न अन्तर्राष्ट्रिय सूचीमा इटालियन, जापानी, थाई वा मेक्सिकन परिकार अगाडि आउँछन्। तर नेपालीका लागि भने म:म नै सधैँ शीर्ष स्थानमा रहन्छ। यद्यपि, पारखीहरू के मान्छन् भने म:म आफैँमा पूर्ण छैन; यसलाई मीठो बनाउने मुख्य तत्त्व भनेको भित्रको किमा र बाहिरको अचार हो।

गीतकार एकनारायण भण्डारीको अनुभव पनि यस्तै छ। सुरुका दिनमा म:म खुब खाने उनी एकपटक अचारबिनै म:म खाँदा म:मप्रति नै वितृष्णा जागेको सम्झन्छन्। पछि पुनः मीठो अचारसँग खान थालेपछि मात्र उनले यसको वास्तविक स्वाद बुझे।

म:मका अनेक रूप (भेराइटी)

गोलो आकारको परम्परागत बफ म:मबाट सुरु भएको नेपाली म:मको स्वरूप अहिले निकै आधुनिक भइसकेको छ। सबैतिर सजिलै पाइने ‘स्टीम म:म’ सबैभन्दा बढी लोकप्रिय छ।

अचेल झोल म:मको क्रेज पनि ह्वात्तै बढेको छ। पहिले-पहिले क्वाटीको झोलमा डुबाएर बेचिने झोल म:म अहिले तिल र बदामको गाढा झोल अचारमा पस्कने गरिन्छ, जुन जाडो मौसममा अत्यधिक बिक्री हुन्छ। यसबाहेक, आधा फ्राइ र आधा स्टीम गरिने ‘कोथे म:म’ पनि काठमाडौँमा निकै लोकप्रिय छ।

अहिले बजारमा सी म:म, फ्राइ म:म, तन्दूरी, ग्रीन, पनिर, खुवा-चीज, फिस म:म हुँदै केराको म:म सम्मका अनेकौँ प्रयोग हुन थालेका छन्।

पुराना दिन र म:मको स्मृति

महाबौद्ध ओटुका स्थानीय सर्विन शाक्यले करिब ५ वर्षको उमेरमा बुबाको हात समातेर रञ्जना हल अगाडि पहिलोपटक २ रुपियाँ प्लेटको गोलो बफ म:म खाएका थिए। त्यसपछि त साथीभाइसँग टोकन लिएर घण्टौँ लाइन बस्ने र स्कुल छँदा खल्तीमा म:मका डल्ला हालेर रस चुस्दै हिँड्ने बानी नै बस्यो।

त्यतिबेला म:म सालको पातको टपरीमा पस्किएर बेचिन्थ्यो र गर्मीमा म:म खानु हुँदैन भन्ने मान्यता थियो। मसलाका रूपमा नुन, जिरा, खुर्सानी, तोरीको तेल र छ्यापी मात्र प्रयोग गरिन्थ्यो। अचेल बजारका म:ममा उनी त्यो पुरानो मौलिक स्वाद पाउँदैनन्, त्यसैले सातामा एकपटक घरमै ‘होममेड म:म’ बनाएर छोरीसँगै खान्छन्।

म:म बेच्नेको कथा

त्रिपुरेश्वरका ४० वर्षीय राम महर्जन दिनभर बागबजारस्थित ‘म:म क्याफे’मा उभिएर म:म बनाउन व्यस्त हुन्छन्। वैदेशिक रोजगारीमा जाने सपना छातीमा दाग देखिएका कारण तुहिएपछि उनले म:म बनाउने पेसा रोजेका हुन्।

बिहानै साहुजीले ल्याएको मासुको किमा बनाउनेदेखि राति अबेरसम्म ग्राहकलाई म:म पस्कनेसम्मको उनको दैनिकी थकाइलाग्दो छ। तर, ग्राहकले स्वादको प्रशंसा गर्दा उनी सबै थकान बिर्सन्छन्। यही पेसाबाट परिवार पालेका राम आफ्ना ७ वर्षीय छोराले भने धेरै पढेर कुनै ठूलो कार्यालयमा राम्रो जागिर खाओस् भन्ने चाहन्छन्।

उपत्यकामा दैनिक दुई करोडको कारोबार

नेपालभर कति म:म बिक्री हुन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब दुई करोड रुपियाँ बराबरको म:म बिक्री हुने अनुमान छ। व्यवसायीहरूका अनुसार बजारमा सबैभन्दा बढी बफ म:म खपत हुन्छ, जसलाई भेज, चिकेन, पनिर र मटनले पछ्याइरहेका छन्।

इतिहास र उत्पत्ति

‘म:म’ शब्द तिब्बती मूलको ‘मोहमो:’ बाट अपभ्रंश भएर बनेको हो। १७ औँ शताब्दीतिर व्यापारका सिलसिलामा ल्हासा (तिब्बत) पुगेका नेवारी व्यापारीहरूले त्यहाँको यो परिकार नेपाल भित्र्याएका हुन्। तिब्बतको अत्यधिक चिसोमा म:मका पारखी बनेका व्यापारीहरूले घर फर्किएपछि यसलाई बनाउन थाले र विस्तारै पाटनका गल्लीहरूबाट यसको व्यावसायिक बिक्री सुरु भयो।

सुरुवाती दिनमा नेवार समुदायमा मात्र सीमित र भैँसीको मासुबाट मात्र बनाइने म:मलाई अन्य समुदायले पछि मात्र अपनाउन थालेका हुन्। समयक्रमसँगै स्टिमबाट सुरु भएको यो परिकार आज अनेकौँ स्वाद, आकार र प्रकारमा रूपान्तरण भई नेपालीको राष्ट्रिय खाजा जस्तै बन्न पुगेको छ।

Old Post New Post

.

Recent Comments

Profile picture of Durgesh Thapa
Durgesh Rana

This was a great read! Thanks for sharing Momo Details.

Profile picture of Susmita Thapa
Susmita Thapa

I Read something new Momos today, appreciate it!

Comment input icon